कार्यक्रमको सुरुवात अभिमुखीकरण, वातावरणीय समस्या पहिचान तथा समाधान विकासबाट हुनेछ, त्यसपछि सांस्कृतिक सम्पदा अन्वेषण, डिजिटल म्यापिङ तथा समुदाय अभिलेखीकरण गरिनेछ। सहभागीहरूले दिगो कृषि तथा स्थानीय जीविकोपार्जन अभ्यास, न्यून–कार्बन पर्यटन तथा उद्यमशीलता, साथै प्रस्ताव लेखन र समाधान डिजाइनमा पनि संलग्न हुनेछन्। यो अनुभव एक दिनको भ्रमण, अन्तिम प्रस्तुतीकरण तथा मनोरञ्जनात्मक गतिविधिहरूका साथ समापन हुनेछ। सहभागीहरूको सक्रिय सहभागिताको लागि स्टाइपेन्ड (भत्ता) पनि दिइनेछ |
नोट: कार्यक्रम काठमाडौँका विभिन्न स्थानहरूमा सञ्चालन गरिनेछ, भने अन्तिम दिनको फिल्ड भ्रमण काभ्रेमा गरिनेछ।
एक यस्तो नेपाल, जहाँ युवाहरू प्रकृतिका जिम्मेवार संरक्षणकर्ता र सांस्कृतिक सम्पदाका जीवित संवाहकका रूपमा गर्वका साथ अघि बढ्छन्, जसले समुदायलाई आफ्नो वातावरण जोगाउन, आफ्ना परम्पराहरू मनाउन, र भावी पुस्ताका लागि दिगो तथा सम्मानजनक भविष्य निर्माण गर्न सक्षम बनाउँछन्।
नेपाली युवाहरूलाई सीप, ज्ञान, र व्यावसायिक सञ्जाल प्रदान गरी हरित रोजगारीतर्फ अग्रसर गराउने तथा नेपालको प्राकृतिक पारिस्थितिकी तन्त्र र सांस्कृतिक सम्पदाको संरक्षणमा वार्षिक पहल र क्षमता अभिवृद्धि कार्यक्रममार्फत योगदान पुर्याउने।
युवाहरूको सिकाइलाई व्यवहारिक कार्यमा रूपान्तरण गर्दै उनीहरूलाई समुदाय आधारित वातावरणीय र सांस्कृतिक पहलहरूको नेतृत्व गर्न तथा सक्रिय रूपमा सहभागी हुन सक्षम बनाउनु, ताकि उनीहरूको सीप र ज्ञानले स्थानीय स्तरमा दीर्घकालीन र सकारात्मक परिवर्तन ल्याउन सकोस्।
यस आधारस्तम्भले कार्बन फुटप्रिन्ट गणना, जलवायु-अनुकूल कृषि जस्ता व्यवहारिक तालिममार्फत युवाहरूलाई न्यून-कार्बन अर्थतन्त्रका लागि आवश्यक सीप प्रदान गर्दछ, जसले वातावरणीय संरक्षणलाई रोजगारी तयारीसँग जोड्दछ।
यसअन्तर्गत युवाहरूलाई स्थानीय मूर्त तथा अमूर्त सम्पदाको पहिचान, अभिलेखीकरण र प्रवर्द्धन गर्न तालिम दिइन्छ, जसले सांस्कृतिक संरक्षण र पुनर्जागरणात्मक पर्यटनलाई सहयोग पुर्याउँछ।
यस आधारस्तम्भले (सौम्य सीपका आधार) आलोचनात्मक सोच, सञ्चार, सहकार्य, र सिर्जनशीलता विकास गरी युवाहरूलाई प्रभावकारी सामुदायिक नेतृत्वकर्ता बन्न सहयोग पुर्याउँछ।
यसअन्तर्गत सहभागीहरूलाई Canva र OpenStreetMap जस्ता डिजिटल उपकरण प्रयोग गरी वातावरणीय संवेदनशील क्षेत्र र सांस्कृतिक स्थलहरूको म्यापिङ गर्न सिकाइन्छ, जसले तथ्यमा आधारित निर्णय प्रक्रियालाई सहयोग पुर्याउँछ।
यस आधारस्तम्भले युवाहरूलाई अनुदान प्रस्ताव लेखन र मल्टिमिडिया कथावाचन सीप प्रदान गर्दछ, जसले उनीहरूलाई आफ्ना विचारलाई कार्यमा रूपान्तरण गर्न, स्रोत जुटाउन, र स्थानीय मुद्दाहरूमा जनचेतना फैलाउन सक्षम बनाउँछ।
कार्यक्रमको उद्देश्य, संरचना, समयतालिका, आचारसंहिता, तथा सहभागिताको प्रक्रियाबारे जानकारी दिन कार्यक्रम परिचय सत्र सञ्चालन गरिनेछ। यस सत्रअन्तर्गत सहभागीहरूले “मेरो ठाउँ, मेरो कथा” गतिविधिमा भाग लिनेछन्। यस गतिविधिले उनीहरूको सोच्ने, बुझ्ने, र समस्या पहिचान गर्ने क्षमता विकास गर्न मद्दत गर्नेछ। सहभागीहरूले आफ्नो समुदायमा देखिएका वातावरणीय, सांस्कृतिक, तथा सामाजिक समस्याहरू साझा गर्नेछन् र ती समस्याको समाधानका लागि आफ्ना विचार तथा उपायहरू प्रस्तुत गर्नेछन्।
सहभागीहरूले साइकल सम्बन्धी विभिन्न गतिविधिहरूमा सहभागी हुनेछन्। यस अन्तर्गत साइकलका विभिन्न प्रकार, यसको प्राविधिक भागहरू, वातावरणमैत्री फाइदाहरू, तथा व्यक्तिगत स्वास्थ्य र दिगोपनामा यसले पुर्याउने योगदानबारे जानकारी र अनुभव प्राप्त गर्नेछन्।
सहभागीहरूले विज्ञहरूको सहजीकरणमा मुख्य वातावरणीय समस्याहरूका कारण, असर, र सम्भावित समाधानबारे छलफल तथा अभ्यास गर्नेछन्। यस प्रक्रियाले उनीहरूको सोच्ने, विश्लेषण गर्ने, र समाधान खोज्ने क्षमता विकास गर्न सहयोग गर्नेछ। साथै, सहभागीहरूले जलवायु परिवर्तन, दिगोपनका मुद्दा , तथा त्यससँग सम्बन्धित सामाजिक र राजनीतिक विषयहरूबारे विश्वव्यापी सन्दर्भमा पनि जानकारी प्राप्त गर्नेछन्।
सांस्कृतिक तथा सम्पदा भ्रमणका क्रममा सहभागीहरूले विज्ञहरू र स्थानीय समुदायसँग अन्तरक्रिया गर्दै संस्कृति र परम्पराहरू कसरी संरक्षण भइरहेका छन् वा कस्ता असरहरू परिरहेका छन् भन्नेबारे बुझ्नेछन्। साथै, भविष्यका पुस्ताका लागि यिनलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा पनि सिक्नेछन्। साथै सहभागीहरूले आफ्नो अवलोकनलाई फोटो, भिडियो, अन्तर्वार्ता, तथा छोटा रिल (वृत्तचित्र )मार्फत अभिलेखीकरण गर्नेछन्, जसले उनीहरूको सञ्चार तथा प्रस्तुतीकरण सीप विकास गर्न सहयोग गर्नेछ। यस गतिविधिबाट सांस्कृतिक संरक्षणका चुनौतीहरू र सकारात्मक पक्षहरू समेटिएको करिब पाँच मिनेटको वृत्तचित्र वा रिल तयार गरिनेछ।
यस गतिविधि दिगोपनमा केन्द्रित रहनेछ, जहाँ सहभागीहरूले न्यून-कार्बन उद्यमसम्बन्धी आधारभूत ज्ञान प्राप्त गर्नेछन् तथा चयन गरिएको उत्पादनको वातावरणीय प्रभाव बुझ्न Life Cycle Assessment (LCA) सम्बन्धी अभ्यास पनि गर्नेछन्।। सहभागीहरूले पर्यटनबारे पनि अध्ययन गर्नेछन्, जसअन्तर्गत स्थानीय गन्तव्यहरूलाई कसरी दिगो रूपमा प्रवर्द्धन गर्न सकिन्छ र समुदायमा आधारित नयाँ उत्पादन तथा पहलहरू कसरी विकास र प्रयोग गर्न सकिन्छ भन्नेबारे सिकाइ हुनेछ।
सहभागीहरूलाई Canva र OpenStreetMap जस्ता डिजिटल उपकरणहरूको परिचय गराइनेछ। यस गतिविधिमार्फत उनीहरूले सिर्जनात्मक डिजाइन, नक्सा तयार गर्ने, तथा वातावरण र समुदायसँग सम्बन्धित काममा डिजिटल माध्यमको प्रयोगबारे व्यावहारिक सीप हासिल गर्नेछन्।
सहभागीहरूले आदिवासी ज्ञानका विज्ञ तथा कथावाचकहरूसँग अन्तरक्रिया गर्दै आदिवासी अभ्यासहरूले संस्कृति, परम्परा, विपद् व्यवस्थापन तथा वन्यजन्तु संरक्षणमा कसरी प्रभाव पारेका छन्, र वर्तमान परिवर्तनहरूले तिनलाई कसरी प्रभावित गरेका छन् भन्ने बुझ्नेछन्। साथै, अहिलेको सामाजिक तथा सांस्कृतिक परिवर्तनले आदिवासी समुदाय र उनीहरूको ज्ञानमा पारेका असरहरूबारे पनि सिक्नेछन्।
कार्यक्रममा प्रस्ताव लेखन पनि समावेश गरिएको छ, जहाँ सहभागीहरूले आलोचनात्मक सोच, सञ्चार, सिर्जनशीलता र सहकार्यका सीपहरू विकास गर्नेछन्। निर्देशित अभ्यासहरू मार्फत उनीहरूले भविष्यका कार्यक्रम, परियोजना तथा सामुदायिक पहलका लागि प्रभावकारी प्रस्ताव कसरी तयार गर्ने भन्ने कुरा सिक्नेछन्।
कार्यक्रमको अन्तिम दिन हसेरा फार्म भ्रमण गरिनेछ, जहाँ सहभागीहरूले हसेरा फार्म द्वारा अपनाइएका दिगो कृषि अभ्यासहरू अवलोकन गर्नेछन् तथा भविष्यका कृषि प्रणालीहरू कसरी विकास गर्न सकिन्छ भन्ने बुझ्नेछन्। भ्रमणका क्रममा नेपालको कृषि बजारलाई डिजिटलाइज गर्न करेसा एपले खेलेको भूमिकाबारे पनि जानकारी दिइनेछ। साथै अन्तरक्रियात्मक गतिविधि, नेटवर्किङ सत्र, क्याम्पिङ तथा संस्थासँग दीर्घकालीन संलग्नताका सम्भावना र अवसरबारे छलफल गरिनेछ। समापन सत्र एक रातको आवासीय कार्यक्रमका रूपमा अर्गानिक रिसोर्टमा सञ्चालन गरिनेछ।
StoryCycle ले अमेरिका, टेक्सास युलेस (Euless) सहरमा “Youth Cohort on Green Solution” नामक १२ हप्ते, ३० घण्टे लामो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको उद्देश्य युवाहरूलाई जलवायु तथा वातावरणीय चुनौतीहरूको समाधानका लागि प्रकृतिमा आधारित नवप्रवर्तनशील उपायहरू विकास गर्न प्रेरित र सक्षम बनाउनु र साथै समस्या समाधान, सहकार्य, नेतृत्व, तथा वातावरणीय सचेतना जस्ता महत्वपूर्ण सीपहरूको विकासमा जोड दिनु रहेको हो। कार्यक्रममार्फत सहभागीहरूलाई जलवायु परिवर्तन, दिगोपन तथा हरित नवप्रवर्तन सम्बन्धी ज्ञान र सीपहरू साथै उनीहरूका सिर्जनशील विचारहरूलाई व्यवहारिक तथा दिगो उद्यममा रूपान्तरण गर्न आवश्यक मार्गदर्शन र सहयोग प्रदान गरिएको थियो ।
“In Our Hands” नेपालमा हरित रचनात्मक अर्थतन्त्र विकास गर्न, देशका दीर्घकालीन जलवायु लक्ष्यहरूलाई अघि बढाउने उद्देश्यसहित युवाहरूको उद्यमशीलता क्षमता विकास गर्न संचालित कार्यक्रम।क्षमता अभिवृद्धि गर्ने, आवश्यक स्रोतसाधन, प्लेटफर्म र नेटवर्किङको अवसर प्रदान गर्ने उद्देश्य साथ संचालित यस कार्यक्रमले कार्यशालाहरूको श्रृंखला समेटेको थियो, जसमा मार्गदर्शन सत्रहरू, पिचिङ तथा नेटवर्किङ कार्यक्रम, अनुदान , र अन्तिम अवसरहरूको प्रदर्शन समावेश गरेको थियो। समकालीन हस्तकला र डिजाइन, सर्कुलर अर्थतन्त्र, सांस्कृतिक सम्पदा संरक्षण तथा वातावरणीय दिगोपनका क्षेत्रमा यूके र नेपालका विशेषज्ञहरूले मिलेर नेपाली उद्यमीहरूको क्षमता विकासका लागि यी कार्यशालाहरूको डिजाइन र सञ्चालन गरेका थिए।