भोलिका दिन सम्झेर बेहोस हुन्छु

Posted on 21 Mar 2016 in Media Caravan by Manisha

धादिङ कटुन्जेकी सुनिता बिश्वकर्मा(३०)ले तीन छोराछोरीको लालनपालन र शिक्षादीक्षाबारे सोच्नु त परै जाओस्, जीविकोपार्जनको लागिसमेत कुनै मेलोमेसो पाउन सकेकी छैनन्।

गत बैशाख १२ को भुइँचालोले उनको सोच्ने ढंग, देख्ने सपना र जीवनशैली नै रातारात फेरिदिएको छ। पहिलाजस्तो उकालीओराली गर्नसक्ने शरीर छैन अब, न त बालबच्चालाई खुवाउन र स्कुल पठाउने हैसियत नै।

'छोराछोरीका पढाइ पनि बिग्रियो। मेरो भविष्य पनि बिग्रियो,' भृकुटी मण्डपस्थित अपांग कोषमा कृत्रिम खुट्टाले हिँड्ने अभ्यास गरिरहेकी बिश्वकर्माले भनिन्, 'अब कसरी दिन बिताउने? थाहा छैन। म त रनभुल्लमा छु।'

जिन्दगीमा उनी दोस्रोपालि हिड्न सिक्दैछिन्। बालखले जसरी हिड्न अभ्यासरत उनले अब हिड्न सिकेर आफूमात्र होइन, छोराछोरीका लागि समेत चारा खोज्नु छ। त्यसपछि तिनका आँखा खुलाउन स्कुल पनि पठाउनु छ। उनमै उनिएका छन् तीन स-साना चिचिलाका सपना र विपना पनि। तिनका खुसी र रहर पनि। तर तिनलाई पनि खुवाउने र स्कुल पठाउने कुनै मेलो उनीसित छैन।

अनिता(१२), मनिता (९), र अनिल(४) गरी उनका तीन बच्चा छन्। अनिता र मनिता गाउँकै सरकारी स्कुलमा पढ्थे। स्कुलसितको तिनको साइनो पनि भुइँचालोपछि जोडिएको छैन।

'कहाँ र कसरी पढाउने?' उनले सोच्नसमेत भ्याएकी छैनन्।

सुनिता गाउँमै खेतीपाती गर्थिन्। आफ्नो बारीका उब्जनीले खान पुग्दैनथ्यो। त्यसैले अधियाँ लाउँथिन्।

चार वर्षअघि अंश लिएर अलग भएका थिए। टीनले छाएको सानो बुकुरो बनाएर ओत लागेका थिए।

त्यसदिन भुइँचालो आएपछि उनी ज्यान जोगाउन भागिन्। तर, भाग्दाभाग्दै उनलाई नै ओत दिने घरको पर्खालले च्याप्यो।

घरसितै उनको बाया खुट्टा अनि उनका ससाना रहर र सपना पनि भत्के।

'अब के गरी खाने हो? थाहा छैन,' उनले भनिन्।

भुइँचालोले भौतिक संरचना मात्र भत्केनन्, सुनिताजस्तै धेरैले ठूलो मानवीय मूल्यसमेत चुकाए। मर्ने त मरिहाले तर शरीरका अंग तथा परिवारका सदस्य गुमाएकाको जिन्दगीमा एकाएक बदलाव ल्यायो, भुइँचालोले। पीडितका हिडाइ, बोलाइ फेरियो। जीवनशैली नै फेरियो। तिनले जिउने कला र देख्ने सपनामा आकाशपाताल भयो।

'भोलिका दिन सम्झेर म त बेहोसै हुन्छु। कतिपालि बेहोस भइसकेँ,' उनले भनिन्।

भूकम्पपीडितका लागि काम गर्ने एउटा संस्थाले उनलाई बालुवाटारमा ओत दिएको छ। त्यँहि बसेर हिँड्ने अभ्यास गर्न उनी दिनहुँजसो भृकुटीमण्डप पुग्छिन्। कहिलेसम्म हो? उनलाई थाहा छैन।

उनको गाउँ पहाडमा छ। कृत्रिम खुट्टाले उकालोओरालो सम्भव छैन। त्यसैले गाउँमा गएर उनले गर्न सक्ने काम छैन। तर, उनले जानेकै मेलापात र खेतीपाती हो। उनले जानेको उही काम उनीबाट बिरानो भयो। नोकरी गर्नलाई पढाइ छैन।

'गाउँ गएर जसोतसो गरौंला भन्ने आशा पनि बाँकी रहेन। हातले गर्ने काम पाए गर्न मन छ। कसैले सहयोग गरे सानो पसल थाप्न मन छ,' उनले भनिन्।

उनका पति बम्बई गएको तीन बर्ष भयो। मजदुरी गर्ने उनका पतिले बेलाबेला फोन गर्छन्। उनका पति अहिलेसम्म उनलाई भेट्न आएका छैनन्।

'मेरोभन्दा पनि बच्चाको माया लाग्छ। यिनले पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ,' उनले दुखेसो पोखिन्।

राजधानी नजिक भए पनि उनी अहिलेसम्म घर फर्केकी छैनन्।

'चिनेजानेकाले के भन्लान्? कसरी देखिने उनीहरुसामु? के भो कुन्नि? मलाई त घर जान मन नै लाग्दैन,' उनले भनिन्।

उनले बेलाबेलामा सपना देख्छिन्। सपनामा ठमठम हिँडिरहेकी हुन्छिन्, गाउँमा। कहिले मेलापातमा काम गरिरहेकी हुन्छिन् भने कहिले घरमा।

'म त पहिलेकै गोडाले हिँडिरहेको हुन्छु, सपनामा। बिउँझेर रुन्छु,' उनले भनिन्।

नसोधी खुट्टा काटिएकोमा उनलाई गुनासो छ।

'बरु खुट्टा रहँदासम्म बाँच्थेँ। काट्न दिने थिइनँ,' उनले भनिन्।

टिचिङ अस्पतालमा उनी बिउझँदा उनको बाया खुट्टा काटिइसकेको थियो।

कृत्रिम खुट्टाले हिँड्न सक्छिन्। तर बेलाबेलामा समस्या आइरहन्छ। कहिले घाउ हुन्छ कहिले के। तीन/चार महिना अभ्यास गरेपछि बल्ल हिँड्न सिकेकी हुन्। उनी अझै अभ्यासरत छिन्।

पहिलोचोटी कृत्रिम खुट्टा लाउँदा उनी बेस्सरी रोएकी थिइन्।

'कहिले बिस्तारै मन बुझ्दैगएजस्तो लाग्छ। कहिले त सोच्छु, यस्तै रहेछ जिन्दगी,' उनले भनिन्, 'कहिले भने मर्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ।'

दैलेखको बासी–३का रमेश खत्री(१८) ले दुवै खुट्टा गुमाए। सुनितासित कृत्रिम खुट्टाले हिँड्न अभ्यासरत खत्री बालाजुको एउटा गेष्टहाउसमा ग्राहक ल्याउने काम गर्थे। आठ पढेर रोजीरोटीका लागि भारत जाने गरेका उनी एक महिनाअघि मात्र काठमाडौं छिरेका थिए। होटल रहेको आठ तले घर भत्किँदा उनलाई बिमले लाग्यो। उनले दुवै खुट्टा गुमाए।

आमाबा, एक भाइ र एक बहिनीको लालनपालन उनकै भरमा अडेको थियो। दुई बर्षअघि बिहे गरेका खत्रीपत्नीले एक महिनाअघि मात्र सम्बन्धविच्छेद गरिन्।

दुवै खुट्टा गुमेकाले सुनितालाई भन्दा उनलाई गाह्रो छ, हिड्न।

'कसैले सहयोग गरे खगेन्द्र नवजीवनमा पढ्न मन छ,' उनले भने।

उनले आफूजस्तै साथीहरुलाई हेरेर मन बुझाउने गरेका छन्।

रमेश र सुनितालाई सरकारले के गर्छ? के छ सरकारको योजना? थाहा छैन। तैपनि कसैले सहयोग गरिहाल्छन् कि भनी उनीहरुले पर्खिरहँदा सरकारी निकाय भने एकअर्कोलाई जिम्मेवारी पन्छाइरहेका छन्।

गृहप्रवक्ता यादव कोइराला यो जिम्मेवारी स्वास्थ्य मन्त्रालयको भएको तर्क गरे। सेतोपाटीसँग उनले भने, 'हाम्रो जिम्मेवारी रेस्क्यु गर्ने हो। यो काम हामीले गरिसक्यौं। अब स्वास्थ्य मन्त्रालयले हेर्छ।'

तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ भने घाइतेहरुको तत्कालीन उपचार गरिसकेको र दिर्घकालीन सहयोगको कार्यक्रम स्वास्थ्य मन्त्रालय अन्तर्गत नरहेको बताउँछन्। उनले भने, 'विकलांगताको वर्गिकरण महिला तथा बालबालिका मन्त्रालयले गर्छ भने बाँकी काम गरिबी निवारण मन्त्रालयले हेर्छ।'

सुनिता र रमेशले जिन्दगीमा दोस्रोपालि हिड्न सिक्दा बालापन सम्झिएका छन्। तर त्यसबेला उनीहरुलाई हेर्दै बाआमा खुसी हुन्थे, अहिले फिजियोथेरापिष्ट।

तथ्यांकअनुसार २०७२ सालको भुइँचालोमा २२,३०४ घाइते भए। ८८५७ मरे। चार लाख ५० हजारभन्दा बढी विस्थापित छन्।

 

प्रकाशित मिति: मंगलबार, फाल्गुण १८, २०७२ १८:०२:२४ 
लेखक: नबिन बिभस्
सेतोपटी बाट साभार गरिएको । 


 

 

Story Map